संविधान संशोधन नभए अर्को संविधान बन्छ: अध्यक्ष उपेन्द्र यादव


न्युजडेस्क/जनकपुरधाम, कात्तिक २२
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् ।

पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’, यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन् ।’

७ वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै यादवले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित भएको बताए । ‘५–७ जना मन्त्री बनेर झण्डावाला गाडी चढेर मात्र हुँदैन’, यादवले भने, ‘प्रदेश स्वायत्त र अधिकार सम्पन्न बनाउनुपर्छ।’

जनसंख्याको आधारमा हरेक वर्ग र समुदायको राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अध्यक्ष यादवले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र गलत भएकाले पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने बताए ।

जसपा अध्यक्ष यादवले अहिलेको संसदीय प्रणाली पनि असफलतातिर गएको पनि दावी गरे । ‘सांसद खरिद बिक्री भइरहेको छ, यो दोष नेताको भन्दा पनि प्रणालीको हो ।’ अनलाइन खबर

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार