लुम्बिनीमा कराेडाैंकाे भव्य रामजानकी मन्दिर शिलान्यास ।


न्युजडेस्क/लुम्बिनी, मंसिर २४ गते
लुम्बिनीमा विवाह पञ्चमीको अवसर पारेर लुम्बिनीमा भव्य रामजानकी र हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।

भगवान गौतमबुद्ध जन्मस्थली नजिक लुम्बिनी सांस्कृतिक नगरपालिका-१ भगवानपुरमा पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने रामजानकी मन्दिर शिलान्यास गरिएको हो ।

आज एक कार्यक्रमका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा बन्ने अनुमान गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए ।

६५ प्रतिशत मन्त्रालय र ३५ प्रतिशत नगरपालिकाको लगानीमा एक बिघा एक धुर क्षेत्रफलमा रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ्ग, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल निर्माण हुने इन्जिनियर कोहारले जानकारी दिए ।

आकर्षक डिजाइनमा बन्ने उक्त मन्दिरको क्षेत्रफल दुई हजार स्क्वायर फिट रहने छ । मन्दिर शिलान्यासमा रामजन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगर प्रमुख चौधरीलाई रामजन्मभूमिको पवित्र माटो र सीताराम इँटा हस्तान्तरण गरेका थिए ।

बाबुल लुम्बिनी संस्कृतिक एसोसिएट प्रा.लिले उक्त मन्दिर निर्माणका लागि तीन करोड ८५ लाख चार हजार एक सय ७५ रुपैयाँमा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ ।

सो अवसरमा रामजन्मभूमि आयोध्या हनुमानगढीका महन्त एवं सन्त राजु दासजी महाराज र हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थिति थियो । लुम्बिनीमा बन्ने साे मन्दिरले पर्यटकीय विकास र आर्थिक समृद्धिका लागि उल्लेख्य भूमिका खेल्ने वक्ताहरुले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार