वर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भव: अध्यक्ष उपेन्द्र यादव


न्युजडेस्क/जनकपुरधाम, पुस १७ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्ण र वर्ग व्यवस्था बीच समाजवादको स्थापना असम्भव रहेको बताउनु भएको छ ।

समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले मुलुकलाई समाजवादको दिशामा अग्रसर हुन वर्ण र वर्ग व्यवस्था अवरोधको रुपमा अगाडि भएको छ ।

साथै देशमा वर्ण र वर्ग व्यवस्थाले जन्माएको असमानता र विभेदबाट विश्वका २६ करोड दलितहरु शोषित र पीडित भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले मुलुकमा समाजवाद स्थापनाको उक्त व्यवस्था परिवर्तन आजको मुल आवश्यकता रहेको बताएका छन् ।

मधेश आन्दोलनको मुल मन्त्र नै शोषित उत्पिडीतको उत्थान भएकै कारण आरक्षणको व्यवस्था अनुसार दलित, उत्पिडितहरुले संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष यादवले दलित लगायतका उत्पिडित समुदायलाई राजनीतिका साथै न्यायमा समेत पहुँच हुनु पर्नेमा जोड दिनु भयो ।

उहाँले महंगो निर्वाचन प्रणालीका कारण दलितहरु चुनाव लडनबाट बंचित भैरहेको उल्लेख गर्दै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनु पर्ने मांग समेत गर्नु भयो । संविधानमा रहेका त्रुटीहरुले दलित, आदिवासी, जनजाति, मुस्लिम र महिला लगायतको समुदायको कल्याण सम्भव नरहेको उल्लेखगर्दै अध्यक्ष यादवले उत्पिडित वर्गको भावना लत्याउदै ल्याईएको संविधान संशोधन अपरिहार्य रहेको दावी गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथि एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एकताको आभावमा दलितहरु विभेद परेको उल्लेख गर्नु हुँदै दलितहरुलाई एकतावद्ध हुन समेत आग्रह गर्नुभयो ।

दलित समुदायले आफ्नो मतको मुल्य सम्झन नसकेका कारण समस्या भोगी रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले आउदो चुनावमा दलितका हितैसीको हुन भनेर चिन्न आग्रह समेत गर्नुभयो । आन्दोलनको बलमा बनेको प्रदेश सरकारले दलितहरुको मुक्तिको लागि जनसंख्याको अनुपातमा आरक्षणका साथै दलित सशक्तिकरण ऐन ल्याएर दलितहरुको हकहितलाई सुनिश्चित गर्ने प्रयास शुरु गरेको उल्लेख गर्नु भयो ।

संगठनको अध्यक्ष खिमबहादुर विश्वकर्माको अध्यक्षतामा भएको उदघाटन सत्रमा जसपा केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह, नेपाली काँग्रेस निकट दलित संगठनका रामवरण पासवान, नेकपा (एस) निकट दलित संगठनका रामअवतार पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । जनकपुरको कलवार कुट्टीमा भोलीसम्म चल्ने भेलाले दलित सम्बन्धि विभिन्न मुद्दामा छलफल गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार