मुलुकमा नागरिक बीच सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्त्वपूर्ण: मुख्यमन्त्री राउत


न्युजडेस्क/जनकपुरधाम, पौष २५ गते
मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारत बीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिकालाई महत्वपूर्ण बताउनुभएको छ ।

भारतीय महावाणिज्य दूतावास वीरगंजले विश्व हिन्दी दिवसको अवसर पारेर आइतबार जनकपुरधाममा आयोजना गरेको नेपाल और भारतके सांस्कृतिक सम्बन्धमा हिन्दीका योगदान विषयक गोष्ठीलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बोल्न र बुझ्नमा सहज भएकोले दुवै मुलुकका नागरिक बीच सम्बन्ध स्थापित गर्न हिन्दी भाषा महत्वपूर्ण रहेको बताउनुभयो ।

डा. आशा सिन्हाको अध्यक्षतामा भएको गोष्ठीमा पूर्व पश्चिमलाई जोड्ने काम पनि हिन्दी भाषाले गरिरहेको उहाँले थप्नुभयो ।
नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले नछेक्ने तर्क गर्नुहुँदै उहाँले सदियौ पुरानो सम्बन्ध स्थापित गर्न पनि हिन्दी भाषाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले विभिन्न भाषाको अध्ययन र अनुसन्धान गर्नको लागि प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया चाँडै अघि बढाउने जानकारी दिनुभयो । भाषा र संस्कृतिको रक्षा गर्ने दायित्व प्रदेश सरकारको छ, उहाँले भन्नुभयोे–यसको लागि आवश्यक ऐन कानुन र बजेट चाँडै व्यवस्थापन गर्छु । गोष्ठीमा कविता वाचन गर्नुभएको कविहरुको प्रसंशा गर्दै मुख्यमन्त्री राउतले विद्वानहरुले वडो कलात्मक र सुन्दर तरिकाले समसमायिक विषयवस्तु थोरै शब्दमा पस्केकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सो अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहले हिन्दी भाषा नेपाल र भारत बीचको सम्बन्धलाई स्थापित गर्ने सेतुको काम गरेको बताउनुभयो । गोष्ठीमा महावाणिज्यदूत नितेश कुमारले प्रत्येक वर्ष १० जनवरीका दिन विश्व हिन्दी दिवस मनाउँदै आएको जानकारी दिदै सन् २००६ देखि नियमित रुपमा सो दिवस मनाउँदै आएको बताउनुभयो।

जनकपुरसहित वीरगंज र कलैयामा पनि विश्व हिन्दी दिवस मनाउने तयारी रहेको उहाँले बताउनुभयो । विश्वका ५० करोड भन्दा बढी नागरिक अहिले हिन्दी भाषाको प्रयोग गरेको जानकारी उहाँले दिनुभयो ।

सो अवसरमा जनकपुरधामका साहित्यकारहरुले हिन्दी भाषामा कविता वाचन समेत गरेका थिए । गोष्ठीमा कविता वाचन गर्नुभएका साहित्यकारहरुलाई मुख्यमन्त्री राउतले दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार